७ पुस २०८१, आइतबार

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल ल्याइने


मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना

काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टीतेल पनि ल्याउने तयारी गरेको छ । निगमले ०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी निर्मित ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टीतेल ल्याउने तयारी अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कामको सफल परीक्षण गरिसकेको छ ।

प्रमुख आचार्यले भने, “पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टीतेल अमलेखगन्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्यांक निर्माण भएको छ । हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ ।”

निगमले पाइलपाइनबाट गएको असोज १८ गते पाँच हजार ५०० किलोलिटर पेट्रोल र मंसिर २६ गते एक हजार किलोलिटर मट्टीतेल अमलेखगन्ज झारेको थियो । अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टीतेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ । पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ ।

“स–साना ‘लिकेज’ हुनसक्छ कि भनेर सूक्ष्म रूपमा निगरानी गरिरहेका छौँ । यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना छ । यसपछि क्रमशः पाइपलाइनबाट पेट्रोल र मट्टीतेल अमलेगन्ज आउनेछ,” कार्यालय प्रमुख आचार्यले भने ।

उनले अगाडि भने, “ट्रकट्यांकरका तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित मानिन्छ । पाइपलाइनबाट इन्धन आउन थालेपछि ट्रकट्यांकर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषणलगायत समस्याको अन्त्य हुनेछ ।”

पाइपलाइनबाट दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज ल्याउन सकिन्छ । तर, पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था भने बनेको छैन ।

“दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन,” प्रमुख आचार्यले भने, “डिजेल, पेट्रोल र मट्टीतेल पाइपलाइनबाटै आयत हुन थालेपछि भने पूर्ण क्षमतामा सञ्चालन हुनसक्छ ।”

यसलाई दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ, जसको कुल लम्बाइ ६९.२ किमि छ । यसमध्ये भारततर्फ ३३ र नेपालतर्फ ३६.२ किमि छ । ०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

निगमको मधेस प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थित डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका निम्ति पनि पेट्रोलियम पदार्थ बिक्री–वितरण गरिँदै आएको छ ।

पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो

करिब पाँच दशकदेखि सञ्चालित अमलेखगन्ज डिपो पूर्ण ‘अटोमेसन’मा जाँदै छ । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टीतेल भण्डारणका निम्ति चार नयाँ ‘भर्टिकल ट्यांक’ निर्माण गरिएको छ । पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई ‘ट्रान्समिक्स ट्रयांक’ र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

ट्रकट्यांकरमा इन्धन भर्नका निम्ति थप २४ पूर्णस्वचालित ‘लोडिङ–वे’, अत्याधुनिक प्रयोगशालालगायत संरचना निर्माण गरी परीक्षण सम्पन्न गरिएको परियोजनाका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए ।

“२४ वटा लोडिङ–वेमा पेट्रोल र डिजेल ट्यांकर भर्नका लागि टप फिलिङ र बटम फिलिङको व्यवस्था गरिएको छ,” उनले भने, “भण्डारण ट्यांक र नयाँ लोडिङ–वे करिब ८०० मिटरको अन्तरमा छ, यसले डिपोलाई झन् सुरक्षित बनाएको छ ।”

मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न ०३० सालमा अमलेखगन्ज डिपोको निर्माण थालिएको थियो । करिब ६७ हजार ७२४ वर्गमिटरमा फैलिएको उक्त डिपो निर्माण सम्पन्न गरी ०३३ माघदेखि सञ्चालनमा ल्याइएको थियो । यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।

अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र दुई हजार २७० किलोलिटर मट्टीतेलको भण्डारण क्षमता छ ।

सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले हाल विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।

अमलेखगन्ज–लोथर पाइपलाइन विस्तार छिट्टै

पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ । लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इन्डियन आयल कर्पोरेसनको विज्ञ टोली नेपाल आएको छ ।

“परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ,” प्रमुख आचार्यले भने, “सम्भवतः अर्को महिनादेखि लोथरसम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !