३० कार्तिक २०८१, शुक्रबार

छाला नपाउँदा मादल बनाउन समस्या


मादल

दमौली, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थिए । मादल बनाउने उनको दैनिकी नै हो । ६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन् । बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उनले मादल बनाउन सिकेका हुन् ।

पुर्ख्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेसा अवलम्बन गरेको सार्कीले बताए । तर, केही समययता मादल बनाउन छाला नपाउँदा उनलाई समस्या हुन थालेको छ । ‘बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ’, उनले भने, ‘अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ ।’

नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उनले बताए ।

उनले भने, ‘स्थानीयस्तरमा छाला फालिएको छ । नगरपालिकासँग आग्रह गरेको छु । निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो ।’ उनले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत बाद्यवादनका सामग्री बनाउँदै आएका छन् । त्यसका अलवा आरन पेसालाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !