१४ कार्तिक २०८१, बुधबार

मन्त्री दाहालद्वारा यातायात व्यवस्था विभागको आकस्मिक अनुगमन


देवेन्द्र दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मासहित मन्त्री दाहाल अपराह्न अनुगमनका लागि मिनभवनस्थित विभागको कार्यालय पुगेका हुन् ।

त्यस क्रममा उनले सेवाग्राहीहरुसँग समेत संवाद गरी विभागबाट प्रवाह भइरहेको सेवाका बारेमा जानकारी लिए । सेवाग्राहीहरुले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाइदिन आग्रह गरेका थिए ।

सेवाग्राहीसँग कुराकानीपछि मन्त्री दाहालले लाईन नलागी सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । टोकन प्रणाली लागू गरी सेवा लिने प्रबन्ध गर्न उनले निर्देशन दिएका हुन् ।

यसैगरी मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमतिपत्र र ईम्बोस्ट नम्बर छपाईका बारेमा पनि जानकारी लिए । विभागका महानिर्देशक राजीव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाई भइरहेको जानकारी दिए । प्रदेशस्तरबाट समेत छपाई सुरु भएकाले विभागमा चाप केही घटे पनि डिजिटल कार्ड छपाईलाई चुस्त र नियमित बनाइएको उनको भनाइ थियो ।

ईम्बोष्ड नम्बर जडानलाई थप तीव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशैभरि कार्यान्वयन गरिने बताए । यस्तै नयाँ सडकहरुमा थप रुट निर्धारणका लागि अध्ययन भई रहेको विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !