३० आश्विन २०८१, बुधबार

हनिट्रयाप प्रकरणमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी


बिनु शाही

काठमाडौँ । प्रहरी निरीक्षक ( इन्स्पेक्टर) बिनु शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर, ललितपुर स्रोतले जनाएको छ ।

प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक शाहीलाई भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन् । थुनामा हुनेमा सुस्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेका हुन् ।

उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । यसअघि गृह मन्त्रालयले शाहीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !