१२ असार, सुर्खेत । कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुग्नु भएको छ । जनता स्वयंको प्रत्यक्ष जिज्ञासा, गुनासा, सुझाव र प्रश्न लिएर प्रदेशको विकास, सुशासनमा गति दिने मुख्य उद्देश्य राखेर ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो ।
‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएकै दिनमा दर्जनौँ नागरिकले मुख्यमन्त्री शाहीसँग, साविकको कर्णालीमा राष्ट्रिय प्रसारण लाइन जडान, सडक, युवा रोजगारी सुनिश्चितता कहिलेसम्म हुने जस्ता प्रश्न तथा जिज्ञासा राखेका थिए ।
जिज्ञासा तथा प्रश्न फेसबुक, भाइबर, एसएमएस, स्काइप र टेलिफोनबाट राखेका थिए । आफ्ना जिज्ञासा खुलेरै प्रत्यक्षरुपमा मुख्यमन्त्रीसँग राख्न पाएपछि कर्णालीवासीले खुशीको अनुभूति गरेका छन् । हिमा गाउँपालिका जुम्लाका रनबहादुर रोकायाले कर्णालीलगायत विभिन्न जिल्लामा अहिलेसम्म पनि विद्युत् नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता भोग्नु परेको गुनासो गर्नुभयो ।
मुख्यमन्त्री शाहीले जनतासँगको प्रत्यक्ष कुराले प्रदेशको आगामी विकास योजना निर्माणमा सघाउ पुग्ने बताउनुभयो । “सेवा प्रवाह र पारदर्शिताका विषयमा पनि जिज्ञासा तथा सुझाव आएका छन्, यो राम्रो पक्ष हो,” उहाँले भन्नुभयो । जनताले खबरदारी गर्दै आएको कुराले यो प्रदेशमा सुशासन कायम हुनुका साथै आगामी योजना निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।(रासस)