९ मंसिर २०८१, आइतबार

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित


धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

मलेखु, धादिङ । धादिङको उत्तरी क्षेत्रस्थित गंगाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो ।

गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिएका छन् । ‘चारैतिरबाट पहिरोले घेरेको छ । गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ । एउटा घरको शौचालय बगिसक्यो,’ उनले भने, ‘गएराति १२ बजेतिर पानी पर्‍यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ ।’

मकैबारीको भित्रभित्रै चिरा परेको छ । गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरू छ । एउटा भत्किने बित्तिकै सबै भत्किने खालको घरहरू छ । पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन/चार परिवारले राति नै घर खाली गरेको पूर्णलेले जानकारी दिए ।

उनका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरू भासिन थालेका छन् । जमिन चिरा परेर बग्न थालेको छ । पहिरो झर्ने सङ्केत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

किचेत गाउँमा विशेष गरी तामाङ समुदायको बसोबास छ । सो गाउँ जिल्ला सदरमुकाम धादिङबेंसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ । बर्खा लागेपछि सो स्थानमा पुग्न यातायात सेवा समेत अवरुद्ध हुने गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !