१४ असार २०८१, शुक्रबार

मुख्यसचिव अर्यालविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय


डा. बैकुण्ठ अर्याल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले मुख्यसचिव डा. अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

अख्तियार स्रोतका अनुसार अर्यालले सञ्चार सचिव हुँदा गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निष्कर्षसहित मुद्दा दायर गर्ने निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा अर्यालको संलग्नता पुष्टि भएको अख्तियारले निष्कर्ष निकालेको हो ।

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा भएको अर्बौ रुपैया अनियमितता प्रकरणमा अनुसन्धान गरी सकेकोले उक्त निर्णय प्रक्रियामा संलग्नहरुमाथि आजै विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

तत्कालीन मन्त्रीहरु ज्ञानेन्द्रवहादुर कार्की र मोहन बस्नेतमाथि मुद्दा चलाउने सन्दर्भमा आयोगका आयुक्तहरु विभाजित देखिएकोले उनीहरुको सन्दर्भमा मुद्दा दर्ता हुने वा नहुने विशेष अदालतमा अभियोगपत्र लैजाने समयसम्म मात्र थाहा हुने आयोग स्रोतले बताएको छ ।

अख्तियारले टेरामक्स प्रकरणमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरु दिगम्बर झा, पुरुषोत्तम खनाल लगायतले गलत ढंगले खरिद प्रक्रिया अघि बढाएको निष्कर्ष निकालेर उनीहरुविरुद्ध एमडिएमएस प्रकरणमा मुद्दा चलाइसकेको छ । टेरामक्स निर्णय प्रक्रियामा तत्कालीन संचार सचिवहरु डा. बैकुण्ठ अर्याल, विनोद प्रकाश सिंह, हरि बस्याललगायत पनि मुछिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !