१२ असार २०८१, बुधबार

दाङमा बञ्चरो प्रहार गरी २ जना महिलाको हत्या


हत्या

घोराही । दाङमा बञ्चरो प्रहार गरी २ जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताए ।

उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !