१८ बैशाख २०८१, मंगलबार

बागलुङ बस दुर्घटना (अपडेट) : मृतकको संख्या ८ जना पुग्यो


बागलुङ निसीखोला बस दुर्घटना

ढोरपाटन, बागलुङ । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ जना पुगेको छ भने घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका ७ जनाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ ।

मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।

घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

प्रहरी निरीक्षक विकले भने, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छौँ, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !