७ मंसिर २०८१, शुक्रबार

एक साताभित्र ललितानिवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह


काठमाडौँ महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न आग्रह गरेको छ । काठमाडौँ महानगरले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको हो ।

विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेकोले ललिता निवास खाली गराउन महानगरले सक्रियता थालेको हो ।

सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य महानगरपालिकाको भएको भन्दै महानगरले जनाएको छ । तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ ।

यस्तो छ काठमाडौं महानगरपालिकाले निकालेको सूचना

काठमाडौं महानगरपालिकाले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !