१३ आश्विन २०८१, आइतबार

गुल्मीका वन्यजन्तु पीडितले पाएनन् क्षति वापतको राहत


आर्थिक सहयोग

गुल्मी । गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्याएवापतको राहत रकम पाएका छैनन् । वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धि निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर÷गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था छ । पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएका छन् ।

दुई वर्ष बित्न लाग्दा पनि आफूले अझै वन्यजन्तुबाट भएको क्षतिको राहत रकम कार्यालयबाट पाउन नसकेको छत्रकोट गाउँपालिका–४ का विष्णुप्रसाद पन्थले बताए । रेसुंगा नगरपालिका–३ की चित्रकला थापाको समस्या पनि उस्तै छ । “बाघले बाख्रा खाइदिएपछि राहत मिल्छ भनेर वन कार्यालयमा निवेदन दिएको पनि धेरै समय भयो, अझैसम्म राहत पाएको छैन”, उनले भनिन् ।

प्रदेश वन निर्देशनालयमार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनी सरकारले निर्णय गरिसकेको छ । तर निर्णय गरे पनि हालसम्म राहत रकमसम्बन्धी बजेट डिभिजन वन कार्यालय गुल्मीमा निकासा भएको छैन ।

चालु आर्थिक वर्षको असार महिनापछि कार्यविधि परिवर्तन भए पनि असार मसान्तभन्दा अघिसम्म बाँके राष्ट्रिय निकुञ्जबाट राहत रकम उपलब्ध गराउँदै आइरहेको थियो । निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भने पनि हालसम्म उक्त रकम अझै डिभिजन वन कार्यालयमा आएको छैन ।

असार मसान्तअघि पेस भएका निवेदनको रकम जिल्लामा नआएको हुँदा भुक्तानीका लगि बाँके राष्ट्रिय निकुञ्जमा फाइल पठाएको जिल्ला वन अधिकृत पंकजजकुमार ठाकुरले जानकारी दिए । “हामीले जिल्लामा आएका भुक्तानी हुन बाँकी सबै फाइल राष्ट्रिय निकुञ्जमा पठाइसकेका छौँ”, त्यहीबाट पीडितको खातामा रकम जान्छ”, उनले भने ।

आव २०७९/०८० मा जिल्लामा वन्यजन्तुको आक्रमणबाट ६८ पशुधन र ११ जनाको अन्नबालीमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकामा मानवीय क्षतिको लागि २० हजारदेखि अधिकतम दश लाख, पशुधनको क्षतिका लागि दश हजारदेखि ३० हजार र खाद्यान्न बालीको क्षतिको लागि दश हजारसम्म उपलब्ध गराउने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !