२१ बैशाख २०८१, शुक्रबार

गोरखापत्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा


रेखा शर्मा

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको महत्त्वपूर्ण र ऐतिहासिक सञ्चार माध्यम गोरखापत्रलाई डिजिटल प्रविधिमा लैजाने बताएका छन् । गोरखापत्र संस्थानको विराटनगर प्रकाशन गृहको आज निरीक्षण एवं अवलोकन गर्ने क्रममा उनले पत्रकारिता क्षेत्रको इतिहास र विरासत बोकेको गोरखापत्रलाई प्रविधिअनुसार विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

सरकारी सञ्चारमाध्यमले सरकारका उपलब्धि जनतामाझ र जनताका आवश्यकता र समस्या सरकारमाझ लैजान पुलको काम गर्नुपर्नेमा उनको जोड थियो । सरकारका प्रवक्ता शर्माले सार्वजनिक प्रशासन ऐनको तर्जुमा भइरहेको जानकारी दिँदै सरकारले गरेका काम व्यवस्थित ढङ्गले जनतासमक्ष लैजान संस्थानका पदाधिकारीलाई निर्देशन दिए ।

मन्त्री शर्माले सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै गोरखापत्रले विशेष लेख र सम्पादकीयमार्फत आफ्ना पाठकलाई आकर्षित गर्नुपर्ने बताए । व्यक्तिले गरेका गल्ती व्यवस्थासँग गाँस्न नहुने बताउँदै उनले परिवर्तित व्यवस्थालाई बलियो बनाउन गोरखापत्रले लेख र रचनाका माध्यमबाट महत्त्वपूर्ण निर्वाह गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए । उनले गोरखापत्र संस्थानले दक्ष जनशक्ति प्रकाशन गृहमा राख्नुपर्ने भन्दै नेपालीको वेशभूषा र संस्कृतिलाई समेटी सिर्जनात्मक ढङ्गले जनताका माझ विषयवस्तु लैजानुपर्ने उल्लेख गरे ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रका लागि राज्य, नागरिक र बजार धर्म रहेको चर्चा गरे । उनले सरकारका सकारात्मक उपब्धिहरुलाई समर्थन, प्रवद्र्धन र प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यप्रतिको जिम्मेवारीमा गोरखापत्र सचेत रहेको बताए ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानले व्यावसायिक स्तरमा सुधार ल्याई क्षमता अभिवृद्धि गर्न प्राथमिकताका साथ काम गरिरहेको बताए । गोरखापत्रले व्यावसायिकतालाई मात्र नहेरेर आम नागरिकसमक्ष आफ्ना उत्पादन पुर्‍याउन काठमाडौँ बाहिर दुई ठाउँबाट पत्रिका प्रकाशन गरिरहेको उहाँले जानकारी दिए ।

सो अवसरमा संस्थानका सञ्चालक समितिका सदस्य चेतन धमला र विराटनगर प्रकाशन गृहका प्रमुख राजकुमार गुरुङले पनि संस्थानका गतिविधिबारे जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !