१२ श्रावण २०८१, शनिबार

मेलम्चीको पानी पथान्तरण सुरु, २८ दिनभित्र काठमाडौँमा वितरण गरिने


मेलम्चीको पानी फाइल फोटो

काठमाडौँ । मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको छ । मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो ।

मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण हुने दाबी गरेको हो । समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौँ उपत्यकामा वितरण गर्ने जनाएका हुन्।

पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ । वर्षामा आएको बाढीका कारण गएको ८ असारदेखि मेलम्चीको पानी काठमाडौँ झरेको छैन ।

मर्मत र सरसफाईका लागि कामको जिम्मा पाएको निर्माण कम्पनीले अहिलेसम्म काम समेत अघि बढाएको छैन । बाढी पहिरोले आयोजनामा क्षति पुगेको भन्दै गएको असार ८ गतेदेखि आयोजनाले काठमाडौँ उपत्यकामा पानी वितरण रोकेको छ।

प्रवक्ता पन्तले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको विकास समितिको बोर्ड बैठकले निर्माण व्यवसायीसँग समझदारी बनाएको र हस्ताक्षर समेत गरिसकेको भन्दै अब २८ दिनमा आयोजनाको तत्कालै गर्नुपर्ने काम सम्पन्न हुने र पानी आउने बताए ।

यस्तो छ मेलम्ची खानेपानी विकास समितिले निकालेको प्रेस विज्ञप्ति

मेलम्ची खानेपानी विकास समितिले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !