काठमाडौँ । अमेरिकी सेनाको टोली संयुक्त अभ्यासका लागि आज नेपाल आइपुगेको छ । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आइपुगेको हो ।
संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित आज अमेरिकी वायुसेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौँ आइ पुगेको हो ।
नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को ४०औं संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ ।
आउँदो असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा हुने उक्त अभ्यास सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्गलादेश, इजरायललगायत देशहरुका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ ।