काठमाडौँ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप २ जना पक्राउ परेका छन् । पछिल्लो समय दुई जना पक्राउ परेसँगै उक्त प्रकरणमा पक्राउ पर्ने चिकित्सकको संख्या ७ जना पुगेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका डा. मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले ५ जनालाई पक्राउ गरेको थियो ।
हिजो नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मा, डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी पक्राउ परेका थिए । अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।