१२ आश्विन २०८१, शनिबार

पाल्पाको रामपुरका किसानलाई घाँसका बिरुवा वितरण


बिरुवा वितरण

रामपुर, पाल्पा । पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ । नगरपालिकाभित्र करिब एक हजार एक सय जनालाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो ।

नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएका स्वावलम्वन समूह र युवा समूह गरी ५१ समूहलाई घाँसका बिरुवा वितरण गरेको हो । गुल्मीको इस्माबाट बिरुवा खरिद गरी नेपियर (रातो र सेतो), राइ खनियु, बडहर, किम्बु जातका घाँस समूहका सदस्यलाई उपलब्ध गराइएको छ ।

ढुवानीसहित करिब रु छ लाखको बिरुवा खरिद गरेर समूहको मागअनुसार वितरण गरिएको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संयोजक सञ्जु परियार बताउछन् । पशुपालनलाई व्यवस्थित र व्यवसायी बनाएर आत्मनिर्भरतर्फ किसानलाई अगाडि बढाउन नगर सरकारले उन्नत जातका घाँसका बीउ वितरण कार्यक्रम गरेको हो ।

निःशुल्क घाँसको बीउ पाएपछि किसान खुसी भएका छन् । स्थानीय सुशीला अर्याल बजारमा बिरुवा खरिद गरेर घाँस लगाउन महँगो पर्ने भएकाले नगरपालिकाले निःशुल्क बिरुवा दिएपछि राहत मिलेको बताछन् ।

बिरुवा खरिदमा खर्च गर्नु नपरेपछि आर्थिक भार किसानले व्यहोर्नुपरेको छैन । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा नगरलाई मासुमा आत्मनिर्भर बनाउनका लागि विशेष योजनाका साथ अगाडि बढेको भन्दै पशु व्यावसायिकरूपमा पालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको बताउछन् ।

“पशुपालनका लागि उपयुक्त रहेको रामपुर पछिल्लो समय किसानले परम्परागत पशुपालन छाडेर आधुनिक प्रविधिबाट उन्नत जाततर्फ आकर्षित भइरहेका छन्”, उनले भनिन्, नगर सरकारले पशुपालनमा विभिन्न अनुदान, सीपमूलक तालिम, प्रविधि सहयोग गरिएपछि व्यावसायिकरूपमा किसान अग्रसर छन् ।”

समूहमा आबद्ध सदस्यलाई उन्नत जातका माउ बाख्रा तथा बोका वितरण, विभिन्न तालिम, प्रविधि दिइएको छ । नगरपालिकाको सहयोगमा माउ बाख्रा पाएपछि समूहका सदस्य पशुपालनमा उत्साहित भएर लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !