१२ आश्विन २०८१, शनिबार

सारङ्गी संरक्षण गर्दै लुम्बिनी प्रदेश सरकार


सारङ्गी संरक्षण

देउखुरी । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिबार तुलसीपुरमा भेला भए । करिब ६३ घरधुरी रहेको सो टोलका उनीहरुमध्ये सारङ्गी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ । उनीहरुलाई सारङ्गी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय सङ्कटको पेसा बचाउन उनीहरुलाई सशक्तिकरण गर्न लागेको छ ।

सोही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका ७० वर्षीय शालिकग्राम गन्धर्वले पेसा कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता लागेको बताए । उनले भने, “सारङ्गी बाजामा चारवटा तार र त्यसबाट ३६ स्वर निकाल्न सकिन्छ । यसमा त राष्ट्रियता पो झल्किन्छ । यो पेसालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिँदा चिन्ता लाग्छ ।”

सारङगी बाजा बनाउने र बजाउने सीप सिकाउँदै आउनुभएका गणेश गन्धर्व खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटोबाट सारङ्गी बनाउन सकिने जानकारी दिए । उनले २५ सारङ्गी तयार परेका छन् । आफूले बनाएका सारङ्गीको बजार मूल्य रु पाँचदेखि ३५ हजार रहेको बताउनुभयो । एउटा सारङ्गी बनाउन पाँच दिन लाग्ने गणेशले जानकारी दिए । उनले भने, “राज्यका तर्फबाट सीप प्रवर्द्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भएमात्रै सङ्कटको सारङ्गी बचाउन सकिन्छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्कटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए । उनले गन्धर्व समुदायको सङ्कटमा परेको पेसा बचाउने दायित्व सरकारको भएको उनले बताए । नगरप्रमुख खड्काले सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्द्धन गरेर व्यावसायिकरूपमा अघि बढाउन सकिन्छ भने ।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्तामाझ पुर्याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवरद्धन गरेको छ । पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सारङ्गी बाजाका लागि सङ्गीत कक्षा र सारङ्गी बनाउने सीप प्रवरद्धन गरिएको जानकारी दिए । उनले उत्पादन गरिएका सारङ्गीको बजारीकरण गरिने बताए । उनले भने,“सारङ्गी बाजा बनाउनका लागि लागत मूल्य र समय घटाउने प्रविधि हस्तान्तरण गरिनुपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !