५ जेष्ठ २०८१, शनिबार

उच्च अदालतको आदेश : फेवातालको चारकिल्लाभित्र डोजर नचलाउनु


फेवा ताल

पोखरा । उच्च अदालत पोखराले फेवातालको चारकिल्लाभित्र डोजर नचलाउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले फेवातालको चार किल्लाभित्र डोजर नचलाउन र कुनै निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासले तालको चार किल्लाभित्र व्यक्तिगत वा संस्थागत निर्माण कार्य नगर्न र डोजर प्रयोग नगर्न अन्तरिम आदेश दिएको हो ।

पोखरा महानगरपालिकाले गत फागुन २ गते देवेन्द्र केसीलाई कृषि प्रयोजनका लागि भनेर डोजर चलाउन सहमति दिएको थियो । दुई दिनको समय पाएका केसीले कृषि प्रयोजनका लागि नभएर फेवाको सिमसार क्षेत्रमा जग्गा पुर्ने र घडेरी सम्याउने कार्यलाई निरन्तरता दिए ।

प्रयोजनविपरीत सिमसार क्षेत्रमा निरन्तर डोजर चलाएर सिमसार पुर्न थालेपछि बुधबार उच्च अदालत पोखरामा रिट दायर भएको थियो । सोही रिटउपर बिहीबार उच्चले पोखरा महानगरपालिकालाई उक्त क्षेत्रलाई निर्माण निषेध क्षेत्र घोषणा गर्न पनि आदेश दिएको छ ।

उच्चले पोखरा–२३ पामेमा सिमसार पुर्नुको कारण पनि माग गरेको छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासले विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !