जाजरकोट । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा काम गरिरहेका २ जना श्रमिकको मृत्यु भएको प्रहरी जनाएको छ ।
नलगाढ नगरपालिका-१२ मा पर्ने उक्त पुल भाँचिदा ८ जना घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । पुलमा हिँडिरहेका ३ जना भेरी नदीमा खसेर बेपत्ता भएको पनि प्रहरीले जनाएको छ ।
बेपत्ताहरूको पनि खोजी कार्य भइरहेको छ भने अन्य घाइतेको पनि उद्धार कार्य जारी रहेको छ । गम्भीर घाइते भएका ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी गरिएको छ । अन्य घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भारत बहराइच घर भएका अन्दाजी ४० वर्षीय कामदार पुरोस्लिम चमारको घटनास्थलमै र अर्का कामदार धर्मेन्द्र गौतम भन्ने हर्जन चमारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।