२ कार्तिक २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय पहिचान समेत हो : उपप्रधानमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार अनुगमन गरेका छन् । अनुगमनसँगै उनले अन्तराष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका छन् ।

गृहसचिव बिनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी एवम् सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए ।

रिपोर्टिङ सुनिसकेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको बताए । विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न समेत उनले निर्देशन दिए ।

निर्देशनात्मक मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकोले त्यसलाई कमजोर गर्ने कुनैपनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो।’ श्रेष्ठले भने- ‘यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ ।’

विमानस्थल प्रशासन नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति अत्यन्त सहृदयी हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

पर्यटकको प्रवेशद्वार आफैंमा त्यो देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने धारणा उनको थियो । त्यस्तै विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दु:ख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने उनले बताए ।

राजनीतिक परिवर्तनले हरेक क्षेत्रमा गुणात्मक सुधार स्थापित गर्न सक्नुपर्ने र सबै निकायबीचको सामुहिकता एवम् अनौपचारिक सेवाभावले नै त्रिभुवन विमानस्थलको समेत सुधार हुनसक्नेमा उपप्रधानमन्त्री श्रेष्ठले सचेत गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !