२९ कार्तिक २०८१, बिहीबार

रेडियो नेपालकी पहिलो समाचारवाचिका कृष्णा ताम्राकारको निधन


कृष्णा ताम्राकार

काठमाडौँ । रेडियो नेपालकी पहिलो समाचारवाचिका कृष्णा ताम्राकारको निधन भएको छ । उनले रेडियो नेपालमा लामो समयसम्म समाचारवाचिकाको रुपमा काम गरेकी थिइन् ।

ताम्राकारको हिजो बिहीबार राति अन्दाजी १० बजे न्यूरो अस्पतालमा उपचारका क्रममा ८६ वर्षको उमेरमा निधन भएको नरोत्तम बैद्यले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

उनी रेडियो नेपालकी समाचार सम्पादक समेत भएकी थिइन् । लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान रहेको छ ।

ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् । उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनी क्यान्सर रोगले पीडित थिइन् ।

रेडियो नेपालमा समाचार वचन गर्दा उनले भन्ने गर्थिन् – ‘यो रेडियो नेपाल हो । अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।’ उनले भन्ने गरेको यो वाक्य धेरै चर्चित थियो ।

संयुक्त राष्ट्रसङ्घका मनिटरिङ कमिटीकी सदस्य बन्दना राणाले रेडियो नेपालबाट प्रसारण हुने समाचारको सशक्त र उत्कृष्ट आवाजकी धनी भएको भन्दै सामाजिक संजाल फेसबुकमा ताम्राकारप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

नेपालपत्र परिवारको तर्फबाट स्वर्गीय ताम्राकारप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । शोक सन्तप्त परिवार र आफन्तजनमा गहिराे समवेदना व्यक्त गर्दछौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !