४ जेष्ठ २०८१, शुक्रबार

मिलन भवन बनाउन शर्माद्वारा रु ४० लाखको जग्गादान


Nepalpatra

१० जेठ, पर्वत । ज्येष्ठ नागरिकको मिलन भवन निर्माण गर्न पर्वतका एकजना ज्येष्ठ नागरिकले रु ४० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

सदरमुकाम कुश्माको वडा नं ७ खरेहामा बनाउने भनिएको भवनका लागि स्थानीय ६६ वर्षीय महानन्द शर्माले तीनआना तीनदाम क्षेत्रफल भएको जग्गा ज्येष्ठ नागरिक मिलन समाजका नाममा पास गरेर जग्गाको लालपूर्जा समाजका अध्यक्ष तीर्थनाथ शर्मालाई दिनुभएको हो ।

जिल्ला वन कार्यालय, पर्वतका पूर्व कर्मचारीसमेत रहनुभएका शर्माले आफू पनि बृद्ध बन्दै गइसकेको र नयाँ पुस्तामा धार्मिक संस्कार हराइसकेको भन्दै असल संस्कारको विकास गर्न पनि आफूले उक्त जग्गा भवन निर्माणका लागि समाजलाई प्रदान गरेको बताउनुभयो । लालपूर्जा बुझ्दै अध्यक्ष शर्माले दाताको मर्मअनुरुपको संरचना तयार पारेर जग्गाको अधिकतम सदुपयोग गर्ने उल्लेख गर्नुभयो ।

भवनको निर्माण भएपछि काम गर्न नसक्ने अवस्थामा घरमा एक्लै बस्ने गरेका ज्येष्ठ नागरिक सोही भवनमा जम्मा भएर आफ्नो पुस्ताका बीचमा विभिन्न विषयमा आफ्ना अनुभव र भावना साटासाट गर्न पाउनेछन् ।

सोही वडाका वडाध्यक्ष सुवास पौडेलले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमअन्तर्गत भवन निर्माणका लागि बजेटको प्रबन्ध गर्ने बताउँदै जमिनको अभाव हुने सदरमुकाममा जमिन दाताले निःशुल्क जग्गादान गर्नु महान कार्य भएको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !