९ माघ २०८१, बुधबार

सुदूरपश्चिम बैतडीमा ३ वर्षमा १३० नवजात शिशुको मृत्यु


शव फेला

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा १३० जना नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो ।

यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । आव २०७६/७७ मा ३१, आव २०७७/७८ मा ४८ नवजात शिशुको मृत्यु भएको थियो । गत आवमा ५१ नवजात शिशुको मृत्यु भएको उनले जानकारी दिए ।

गत आवमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ नवजात शिशुको मृत्यु भएको थियो । यस्तै मेलौली नगरपालिकामा ११, सिगास गाउँपालिकामा छ, दशरथचन्द र पाटन नगरपालिकामा पाँच/पाँच, डिलाशैनी र शिवनाथ गाउँपालिकामा चार/चार तथा सुर्नया गाउँपालिकामा दुई नवजात शिशुको मृत्यु भएको छ ।

स्वास्थ्य संस्थामा दक्ष प्रसूतिकर्मी नहुनु, सुत्केरी हुन स्वास्थ्य संस्था नजानुलगायत कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ । समय अगावै जन्मिनु, नवजात शिशुमा सङ्क्रमण हुनु र निस्सासिएर पनि शिशुको मृत्यु हुने गरेको स्वास्थ्य प्रमुख भट्टको भनाइ छ ।

जिल्लामा एक सय ३० सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा छन् । नवजात शिशुको मृत्यु रोकथामका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड छ । स्वास्थ्यका सम्पूर्ण अधिकार स्थानीय तहमा रहेका भए पनि स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्दा विभिन्न समस्या देखिन थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !