काठमाडौँ । यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ ।
यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएर निधन भएकामध्ये ४८ जनाको शव आज काठमाडौँ ल्याइएको बताएको हो । शव आज दिउँसो नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
मृतक ४८ जनाको शव आज काठमाडौँ ल्याइए पनि शवको परीक्षण भने भोलि बिहानदेखि सुरु गरिने भएको छ । शवलाई अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ । मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम आज भएकाले परीक्षण सुरु गर्न नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
मृतकमध्ये कतिपय व्यक्तिको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा शव पहिचान गरेर परीक्षणपश्चात् एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गरिने बताइएको छ ।
चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।