३ जेठ, काठमाण्डौ । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संयोजनमा “संघिय संरचनामा सञ्चार, मातृभासा पत्रकारिताको आधार” संघीय संरचनामा राज्यले मातृभासा पत्रकारिताको प्रर्वद्धन गर्ने उद्देश्य बोकी इतिहासमा पहिलोपटक मातृभाषा (राष्ट्रभाषा) पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
राष्ट्रमा पहिलोपटक ऐतिहासिक रुपमा आयोजना गरिएको मातृभाषा राष्ट्रभाषा पत्रकार सम्मेलनमा किरात राई पत्रकार महासंघ, मगर पत्रकार, तामाङ्ग पत्रकार महांसघ, संचारकर्मि संघ, मगर पत्रकार संघ, लिम्बु पत्रकार महासंघबाट, थारु पत्रकार महासंघबाट मदन चौधरी, शेर्पा सञ्चार समूह नेपाल फुर्किमा शेर्पा गरि देश भरिका २६ वटा आदिवासी जनजाति पत्रकारहरुको उपस्थिति रहेको थियो ।
विशेष अतिथिको रुपमा पाल्नु भएका काठमाण्डौं महानगरपालिकाका विद्यासुन्दर शाक्यले सबै मातृभाषी पत्रकारीतालाई समेटेर अग्रसर हुनुपर्ने बताउनुभयो । भावनात्मकका साथै व्यवसायिक रुपमा लाग्नु पर्ने कुरा जोड दिनु पर्ने साथै सिंगो देशको नेतृत्व गरी अघिबढ्नु पर्ने कुरा जोड दिनु भयो ।
विशेष अतिथिको रुपमा प्रदेश नं. ३ का सासंद राजु शाक्य अन्य अतिथिहरु नेवाः पत्रकार राष्ट्रिय दबूबाट विभिन्न शाखाबाट अतिथिहरु लगायत दबूको सल्लाहकारहरु नरेशवीर शाक्य, पुष्करभक्त माथेमा, राजु शाक्य, सुरेशकिरण मानन्धरहरु अथितिको रुपमा उपस्थिति रहेको थियो ।
अतिथिका रुपमा पाल्नु भएको नेपाल पर्यटन बोर्डका संचालक सदस्य कृष्ण अर्यालले मेचि देखि महाकालिमा छरिएर रहेका सम्पूर्ण जनजाति पत्रकारहरुले आ—आफ्नो पत्रकारिताको माध्यमबाट यस कार्यक्रमको महत्वको बारेमा प्रस्टयाउन सकेको खण्डमा अझ राम्रो हुने बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा बुधवार भएको पत्रकार सम्मेलनमा कार्यक्रमको संयोजक नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूले हरेक वर्ष वैशाख महिनामा प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको स्मृतिमा मनाउँदै आएकोले राज्य स्तरबाट नै पहल कार्यमा जोड दिइ सम्पूर्ण मातृभाषी पत्रिकाहरुलाई राज्य स्तरबाट मान्यता दिनु पर्ने कुरामा जोड दिनु पर्ने कुरा बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ्गले ऐतिहासिक दस्तावेज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक रहेको छ । नेपालमा जातिय, भाषिक, सांस्कृतिक रुपमा प्रजातन्त्र आएपनि संविधान भएको व्यवहारमा लागु नभएको दुखःद पुर्ण घटना हो । जातिय सिन्दीकेट तोड्नु आवश्यक रहेको छ । मातृभासा पत्रकारिताका एक नाजुक रहेको छ । जसका कारणले राज्य विभेदका कारणले भएको । ऐन, कानुन कमजोर भइ समष्टिगत रुपमा विकास नभएको भनि मन्तव्य राख्नु भयो ।
नेवाः पत्रकार राष्ट्रि दबूका अध्यक्ष श्री कृष्ण महर्जनले मातृ भाषा पत्रकारिता समावेशीताको आधारमा सम्मेलनको महत्व र आवश्यकताको जानकारी दिलाउनुका साथै मातृभाषा पत्रकारिता ऐतिहासिक महत्वको बारेमा मन्तव्य राखी कार्यक्रम समापन गरिएको थियो ।
पत्रकार सम्मेलनमा २६ ओटा भाषाभाषीका सम्पादक प्रकाशकहरुले घोषणा पत्र जारी गरिएको थियो जसमा निम्नलिखित बुँदाहरु समावेशीता गरिएको थियो ।
नेपालमा विगत ९३ वर्षदेखि निरन्तरता पाइरहेको मातृभाषा पत्रकारिताको लहर आगामी दिनमा थप सशक्त बनाउँदै लानुपर्ने आवश्यकता अनुभव गर्दै, करिब एक शताब्दी लामो मातृभाषा पत्रकारिता राज्यको आँखामा सकारात्मक संरक्षकत्व, प्रोत्साहन, प्राथमिकताको विषयवस्तु हुन नसकेका कारण परिपक्व, सुविधायुक्त, उर्वर र विकसित हुन नसकेको तथ्यलाई आत्मसात् गर्दै, बहुजातीय, बहुभाषिक र बहुधार्मिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने र त्यसको महत्वपूर्ण आधारका रूपमा आदिवासी जनजाति समुदायबीच अभ्यासमा रहेको मातृभाषा पत्रकारितालाई थप सशक्त, उपलब्धिमूलक, व्यावसायिक र सिर्जनशील बनाउन बहुभाषिक पत्रकारिताका लागि समावेशी सञ्चार नीतिको अविलम्ब कार्यान्वयन गर्दै निम्नलिखित कदमहरू चाल्नुपर्ने निष्कर्षमा पुगेका छौँ :
– नेपाली सञ्चार जगत्मा आदिवासी जनजाति पत्रकारिताको न्यून उपस्थितिलाई नीति निर्माण तहले समस्याको रूपमा आत्मसात् गर्नुपर्ने र यसको समाधानका लागि बहुआयामिक सकारात्मक पहल अगाडि बढाउनुपर्ने,
– हाल गोरखापत्र दैनिकले अभ्यास गर्दै आएको बहुभाषिक पत्रकारितालाई समावेशी पत्रकारिताको एउटा नमूनाका रूपमा लिएर प्रत्येक प्रदेशको जनसङ्ख्या, भाषा, सांस्कृतिक बाहुल्यताका आधारमा मातृभाषी सञ्चारकर्मीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुका साथै सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता गर्दै आएका जनशक्तिको पेशागत सुनिश्चितता कायम गर्नुपर्ने,
– नीति निर्माण तहमा आदिवासी जनजाति पत्रकारको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने,
– नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने,
– गैरमातृभाषी सञ्चार क्षेत्रमा संलग्न आदिवासी जनजाति सञ्चारकर्मीहरूलाई यस क्षेत्रमा परिचालन हुन प्रोत्साहित र आकर्षित गरिनुपर्ने,
– जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने,
– पत्रकारितालाई समानता र सामाजिक न्याय, पहिचानका लागि आदिवासी जनजातिले गर्दै आएको आन्दोलनको अभिन्न अङ्गका रूपमा आत्मसात् गरिनुपर्ने,
– आदिवासी जनजाति सञ्चार पहलका लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने,
– राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने,
– राज्यले राष्ट्रिय स्तरमा प्रत्येक वर्ष मातृभाषा पत्रकारिता दिवस आयोजना गर्नुपर्ने ।
मातृभाषा पत्रकारिताको विकासले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्चतम अभ्यास गराउने र नेपाली पत्रकारिताको परिभाषालाई व्यापकता प्रदान गर्ने भएकोले आमसञ्चारमा सबैको पहुँच सुनिश्चित गर्न उल्लेखित बुँदाहरू कार्यान्वयनमा ल्याउन सम्बद्ध निकायलाई आह्वान गर्दछौँ ।