७ बैशाख २०८१, शुक्रबार

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते


मृत

महेन्द्रनगर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो ।

उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् ।

बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो । सो ठाउँमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो ।

त्यसैगरी बाजुराको बूढीनन्दा नगरपालिका, बूढीगङ्गा नगरपालिकालगायतका केही पालिकामा विवाद भएपछि मतदानसमेत स्थगन भएको छ ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बाजुरामा मतदान स्थगन तथा त्रिवेणी नगरपालिकामा भएको घटनासम्बन्धमा जानकारी लिने कार्य भइरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !