८ मंसिर २०८१, शनिबार

कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृतचित्र प्रदर्शन


हिमनदी

इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ ।

आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ भएको हो । सम्मेलनको चौथो दिन बुधबार ग्रामीण पुनःनिर्माण नेपाल र दिगो विकास इन्स्टिच्युटले आयोजना गरेको साइड इभेन्टमा ‘साथसाथै फाण्डेसन’ले निर्माण गरेको सो वृतचित्र प्रदर्शन गरिएको हो ।

जलवायु वित्तमा महिला सहकारीको भूमिका विषयक कार्यक्रममा प्रदर्शन गरिएको वृतचित्रमा विशेष गरी हिमालय क्षेत्रमा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेको असरबारेमा चित्रण गरिएको छ । वृतचित्रमार्फत ‘कालापत्थर घोषणापत्र’ कार्यान्वयन सम्बन्धमा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराइएको फाण्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिए ।

फाण्डेसनको आयोजनामा गत वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रमा ४० अगुवा महिलाको समूहले संयुक्त पैदलयात्रा गरी सर्वाेच्च शिखर सगरमाथाको कालापत्थरमा विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको थियो ।

‘वुमन्स भ्वाइस फ्रम द हिमालयाज’ शीर्षकको वृतचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको क्षति र त्यसले महिलाको जनजीवनमा पारेको प्रभावबारे समेटिएको छ । वृत्तचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा हिउँको कमी हुँदै गएको, हिमनदी पग्लिने क्रम बढेको, पहाडी क्षेत्रमा बढ्दो बाढी पहिरो र त्यसबाट हुने क्षति, तराईमा बेमौसमी वर्षाले जनधन र अन्नबालीमा पुर्याएको क्षतिलगायत विषय समेटिएका छन् ।

यसैगरी सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्यदेखि डोल्पामा यसैवर्ष विपद्ले पु¥याएको क्षतिसमेत वृत्तचित्रमा समावेश छ । कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि बर्सेनि जलवायु परिवर्तनको क्षतिबाट भने नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाका जलवायुसम्बन्धी सल्लाहकार डा. माधव कार्की, एलडिसी वाचका अर्जुन कार्की, एपिएमडिडीका लिडी नेक्पील, दिगो विकास इन्स्टिच्युटका आरती पौडेललगायतले जलवायु परिवर्तनका असरले महिलाको जनजीवनमा पारेको प्रभाव र त्यसको समाधान सम्बन्धमा अपनाउनुपर्ने विषयका बारेमा विचार व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !