१२ असार २०८१, बुधबार

कालीकोटमा बम विस्फोट : २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते


विस्फोटन

काठमाडौं । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

तिलागुफाको रानावाडास्थित कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षीया बालिका झरना थापा र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा भने गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना आज बिहान ८ बजेको हो ।

बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले कालीकोट विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !