८ जेष्ठ २०८१, मंगलबार

बाराको त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते


मजदुर र प्रहरीबीच झडप

वीरगञ्ज । बारा जिल्लाको त्रिवेणी स्पिनिङ उद्योगमा आज बिहीबार मजदुर र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका-९, छातापिपरास्थित उक्त उद्योगमा प्रहरी र मजदुरबीच झडप हुँदा १३ जना प्रहरी घाइते भएका हुन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । मजदुरले उद्योगभित्रै बन्धक बनाएर राखेका व्यवस्थापक सहितका १३ जना कर्मचारीलाई उद्धार गर्न आज दिउँसो प्रहरी उपरीक्षकसहित गएका प्रहरी र मजदुरबीच झडप भएको हो ।

दसैंमा बोनस नपाएको भन्दै मजदुरहरूले उद्योगका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शर्मा, महाप्रबन्धक, प्रशासन अधिकृतसहित पाँच जना व्यवस्थापक र आठ कर्मचारी गरी १३ जनालाई बुधबार दिउँसोदेखि नै उद्योग परिसरमा रहेको प्रशासनिक भवनभित्र थुनेर बन्धक बनाएका थिए।

उद्धार गर्न गएको प्रहरी टोलीमाथि मजदुरहरूले आक्रमण गर्दा १३ जना प्रहरी घाइते भएकामध्ये गम्भीर अवस्थाका २ जना प्रहरीको वीरगञ्जमा र बाँकी ११ जना प्रहरीको सिमरामा उपचार जारी रहेको छ । झडपमा संलग्न मध्येका ७ जना मजदुरहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !