तनहुँ । सिङ्गुसले टोकेर तनहुँमा आज १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो ।
शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते हुनुभएका सुवेदीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१ तालघरे नजिक सिमलको रुखमा रहेको सिङ्गुसले राजमार्ग भएर हिँड्ने सर्वसाधारण र मोटरसाइकलमा सवारलाई टोकेको उनले बताए ।
सिङ्गुसले टोकेर घाइते भएकाहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त राजमार्ग भएर हिँड्डुल गर्ने सर्वसाधारण र चालकलाई सचेत भएरमात्रै हिँड्डुल गर्न प्रहरीले अनुरोध गरेको छ ।