७ बैशाख २०८१, शुक्रबार

बाढी, पहिरो र डुबानमा परेकालाई उद्दार गर्न गृहमन्त्रीको निर्देशन


बालकृष्ण खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीप कोइराला, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक विदुर खड्कालाई टेलिफोन गर्दै सरकारको मुख्य दायित्व नागरिकको जिउ धनको रक्षा गर्नु रहेको जनाउँदै विपद्मा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाका दुई हेलिकोप्टर सुर्खेतमा तैनाथी अवस्थामा रहेको र मौसमका कारण घटनास्थलसम्म पुग्न नसकेको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिए ।

त्यस्तै मुलुकभर निरन्तरको वर्षपछि आएको बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार, उपचार, पुनस्थापना र राहतको व्यवस्था गर्न पनि गृह प्रशासनलाई गृहमन्त्री खाणले निर्देशन दिएका छन् । सप्रजिअ पुनका अनुसार लमहीमा डुबानामा परेका सात जनाको उद्धार भइसकेको छ ।

अहिलेसम्म लमही नगरपालिकामा सात घर, राजपुर गाउँपालिकामा २११ घर, गढवा गाउँपालिकामा ५८५ घर, राप्ती गाउँपालिकामा २५० घर डुबानमा परेका छन् । हालसम्म मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै कालाकाटे, धानखोला र मुसोटखोलामा सडक अवरुद्धसमेत जानकारी दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !