१३ बैशाख २०८१, बिहिबार

पहिरोले तनहुँको पयारटोलका दुई घरमा पूर्ण क्षति


रुकुम पश्चिममा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु फाइल फोटो

दमौली । दमौलीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँको म्याग्दे–७ पयारटोलका दुई घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय बसन्तबहादुर घर्ती र पदमबहादुर घर्ती पहिरोले क्षति पुगेको नेपाली काङ्ग्रेस म्याग्देका नेता श्रीभद्र आचार्यले जानकारी दिए ।

पहिरोका कारण सोही ठाउँमा बिजुलीको पोल ढलाएर थप क्षति हुने सम्भावना रहेको उनले बताए । “गाउँपालिकाभित्र बाढीपहिरोका कारण भएको क्षतिको विवरण तत्काल सङ्कलन गरी पीडितलाई राहत दिन स्थानीय, प्रदेश र सङ्घ सरकारसँग माग गर्दछौँ”, उनले भने ।

अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–४ मादी पुल नजिक आज सडक भासिएको छ । सडकमाथिबाट खसेको पहिरोका कारण पानी सडकमा आउँदा सडकको केही भाग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए ।

“पहिरो खसेपछि पानी सडकमै बग्दा सडक भासिएको हो, पानीलाई वैकल्पिक माध्यमबाट अन्यत्रै बग्ने बनाएका छौँ”, उनले भने, “भासिएको सडकको मर्मतको काम सुरु भइसकेको छ ।”

वर्षाका कारण पहिरो जाँदा व्यास नगरपालिका–३ र ५ मा तीन घरमा क्षति पुगेको छ । व्यास–३ देउराली नगरको भिमसेन मन्दिर पछाडिपट्टिको ढिस्को खस्दा नयाँ बन्दै गरेको घरमा क्षति पुगेको छ । यस्तै व्यास नगरपालिका–५ मानुङकोटमा पनि पहिरोका कारण दुई घरमा क्षति पुगेको स्थानीय चुडामणि दाहालले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिका–३ शान्तिनगरमा पनि पशु सेवा विज्ञ केन्द्रको पर्खाल नजिक पहिरो गएको छ ।

वर्षाले व्यास नगरपालिका–१ स्थित क्षेत्री समाजको भवन जाने बाटो क्षतबिक्षत बनाएको छ । व्यास–१ करङकाठमा बुल्दी खोला बढ्दा खोला पार गर्ने क्रममा एउटा मोटरसाइकल सहित चालकलाई बगाएको छ । चालकलाई भने शकुसल उद्धार गरिएको छ भने मोटरसाइकल फेला नपरेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !