७ मंसिर २०८१, शुक्रबार

काठमाडौँको फोहोर व्यवस्थापन गर्न भयो ४ बुँदे सहमति


बञ्चरेडाँडामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ । काठमाडौँको फोहोर व्यवस्थापनका लागि ४ बुँदे सहमति भएको छ । काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्ने क्रममा भइरहेको अवरोध हटाउने सहमति भएको हो ।

काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि आज साँझ बञ्चरेडाँडामा फोहोर फाल्ने क्रममा हुने गरेको अवरोध हटाउन ४ बुँदे सहमति भएको हो ।

फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा दैनिक गन्ध नआउने औषधि छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भोलि बिहीबारदेखि काठमाडौँको फोहोर व्यवस्थापन सहज हुनेगरी सहमति भएको जानकारी दिए ।बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गर्ने धुनिवेशी नगरपालिकाका सत्तारुढ दलका तीन नेतामाथि जिल्ला प्रशासनमा परेको उजुरीमा पनि कारबाही अघि नबढाउने सहमति भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !