१४ बैशाख २०८१, शुक्रबार

निहारिका राजपुत प्रकरण : अन्तत: आरोपी शिवराज श्रेष्ठ पक्राउ


निहारिका राजपुत र शिवराज श्रेष्ठ

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासअघि आत्मदाह गर्न खोज्ने निहारिका राजपुत प्रकरणमा बलात्कार आरोप लागेका शिवराज श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीका अनुसार उपत्यका अपराध महाशाखा र धनुुषा प्रहरीको टोलीले श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

आफू बलात्कृत भएको र प्रशासनले सहयोग नगरेको गुनासोसहित आन्दोलनरत निहारिकाले शीतल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी थिइन् । उनले आत्मदाह गर्ने भन्दै शरीरमा पेट्रोलियम पदार्थ खन्याएकी थिइन् ।

तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको थियो । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनले आफ्नो बच्चाको डीएनए जाँच गर्नको लागि माग गर्दै अनसनसमेत बसेकी थिइन् ।

श्रेष्ठले आफूमाथि बलात्कार गरेको र बच्चा जन्मिएको भन्दै निहारिका कारबाही माग गरी माइतीघर मण्डला र बसन्तपुरमा अनशन बसेकी थिइन् । जनकपुरका शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेर ‘ब्ल्याकमेल’ गरेको निहारिकाको आरोप छ ।

शिवराजले आफूमाथि बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको दावी रहेको छ । जिल्ला अदालत धनुषाले २०७८ साल माघ २४ गते श्रेष्ठलाई सफाइ दिएको थियो । उच्च अदालत जनकपुरमा भने उनको मुद्दा विचाराधीन रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !