३३ वर्षपछि पाँचथरको जोरसाल हाटबजार सञ्चालनमा Nepalpatra ३३ वर्षपछि पाँचथरको जोरसाल हाटबजार सञ्चालनमा
२१ आश्विन २०७९, शुक्रबार

३३ वर्षपछि पाँचथरको जोरसाल हाटबजार सञ्चालनमा


जोरसाल हाटबजार

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि औँसीपूर्णिमा हाटबजार सञ्चालनमा आएको छ । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको जोरसाल बजारमा आजदेखि हाट पुनः लाग्न थालेको हो । हाटको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आज आयोजित कार्यक्रममा उद्घाटन गरे ।

सदरमुकाम फिदिमबाट दुई किलोमिटरको दूरीमा रहेको यस बजारको पुनर्जीवन, उक्त आसपासका कृषकहरुको कृषि उपजको सहज विक्रीवितरण तथा परम्पराको संरक्षणका लागि हाटलाई पुनः सञ्चालनमा ल्याइएको हो ।

देउराली युवा क्लब र जोरसाल व्यवस्थापन समितिले उक्त हाट सञ्चालनमा ल्याएका हुन् । हटिया पुनः सञ्चालन गर्ने सोच बनाएका स्थानीयवासीलाई फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीले सहयोग गरेपछि आजदेखि हाट सञ्चालनमा आएको छ । प्रत्येक औँसी र पूर्णिमाका दिन लाग्ने हटिया विशेषतः स्थानीय कृषि उपज विक्रीका लागि उपयुक्त हुने स्थानीयवासीको अपेक्षा छ ।

हाटमा आसपासका कृषकहरुले सागसब्जी, दाल, फलफूललगायत कृषि उपज विक्रीका लागि राखेका थिए भने फिदिमका केही व्यवसायीले लत्ताकपडा, जुत्ताचप्पललगायत सामग्री विक्रीका लागि राखेका थिए ।

सदरमुकाम फिदिममा प्रत्येक शनिबार शनिबारे हटिया लाग्दै आएको छ । जिल्लाका अधिकांश हाट बजारहरु क्रमशः बन्द हुँदै गएको अवस्थामा फिदिम–४ मा उक्त हटिया पुनः लाग्न सुरु हुनु सुखद् विषय भएको पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !