७ मंसिर २०८१, शुक्रबार

सीमामा काँडेतार लगाउनुपर्ने भनेको भोलिपल्ट प्रधानसेनापतिलाई भेटे भारतीय राजदूतले


प्रभुराम शर्मा र नवीन श्रीवास्तव

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगेर भारतीय राजदूत श्रीवास्तवले प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् ।

नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने अभिव्यक्ति दिएको चर्चा भएपछि प्रधानसेनापति शर्मालाई भेट्न भारतीय राजदूत श्रीवास्तव आज शुक्रवार जंगी अड्डा पुगेका हुन् । प्रधानसेनापति शर्माले हिजो बिहीवार मात्र नेपाल-भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने अभिव्यक्ति दिएपछि चर्चा चुलिएको थियो ।

हिजो प्रधानसेनापति शर्माले नेपाली सेनाले नेपाल–भारत सिमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेका थिए । सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै तार लगाउनुपर्ने प्रस्ताव गरेका हुन्  ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ । भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने दुवै पक्षले विश्वास गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !