३१ भाद्र २०८१, सोमबार

नेपाल आइपुगे अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुख फ्लिन


अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन नेपालमा

काठमाडौँ । अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।

उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । नेपाली सेनाका अनुसार उहाँले शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनको भ्रमण तालिकाअनुसार सगरमाथाको आधार शिविर पुग्ने तथा आइतबार उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नेछन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार नेपाल र अमेरिकाबीच कायम रहेको दशकौँ लामो रक्षा सहकार्यको निरन्तरताका रूपमा उनको भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा फ्लिनले नेपाल सरकारका उच्च नेतृत्वसँग पनि शिष्टाचार भेटघाट गर्नुहुने जनाइएको छ ।

उनले आफ्नो बसाइका क्रममा नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पुर्याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !