१४ बैशाख २०८१, शुक्रबार

विप्लव समूहद्वारा अमेरिका र सरकारको बिरुद्धमा बिरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक


विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सरकार र नेपाल सरकारको बिरुद्धमा बिरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी विदेशी हस्तक्षेप र नेपाल सरकारले गरेको महंगीविरुद्धमा बिरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको हो ।

उक्त पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, जनाधिकार र जनजीविकाको दृष्टिले नेपाली जनता इतिहासमै चरम संकटको अवस्थावाट गुज्रि रहेका छन् । हाम्रो देशमाथि अमेरिकी साम्राज्यवादी हस्तक्षेप तीव्र भई राखेको छ । अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नेपालस्थित तिब्बतीयन शरणार्थी शिविरको भ्रमणले उक्त कुराको पुष्टि गर्दछ । एमसीसीका अमेरिकी कर्मचारी नाङ्गो रुपमा एमसीसी परियोजनाका टावर निर्माण स्थलमा पुगेका छन् । पाल्पाको घटनाले यस कुराको उजागर गरेको छ ।’

विप्लव समूहले जनसरोकारका विषयलाई अघि सार्दै विदेशी हस्तक्षेप बढेको तथा महंगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै जेठ २५ देखि असार ५ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लव समूहले जेठ २५ गते राजमार्ग, काठमाडौँ उपत्यका र देशव्यापी किसान बिरोध प्रदर्शन, जेठ २७ गते अमेरिकी हस्तक्षेपविरुद्ध देशब्यापी बिरोध प्रदर्शन, जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन र घेराउ, असार २ गते राजबन्दी रिहाईको पक्षमा देशब्यापी मसाल जुलुस निकाल्ने र असार ५ गते चर्को महंगी र भाडा वृद्धिबिरुद्ध देशब्यापी बिरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्तो छ विप्लव समूहले निकालेको प्रेस विज्ञप्ति

विप्लव समूहले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !