२ मंसिर २०८१, आइतबार

पाहुना चराले रमणीय महोत्तरीको गौशाला बजार


गण्डकी प्रदेश चरा पर्यटनको गन्तव्य

महोत्तरी । दिनहुँजसो सयौँको सङ्ख्यामा थपिने पाहुना चराले महोत्तरीको गौशालाबजारस्थित इलाका प्रहरी कार्यालय परिसर गुलजार (रमणीय) बनेको छ ।

नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुना चराको सङ्ख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ । लाग्दो वैशाखमै आएका पोथी पाहुना चरा गुँडमा फुल (अण्डा) पारेर स्याहार्न थालेका छन् । अहिले पनि चरा थपिने क्रम जारी नै रहेको गौशाला बजारका बासिन्दा बताउँछन् ।

अहिले परिसरभित्रका सबैजसो रुखका हाँगाबिँगा र पात झ्याप्प छोपिने गरी पाहुना चरा बसेका छन् । यिनको कलरब (कराएको) गीतको धुनझैँ लाग्दा निकै रमाइलो लाग्ने गरेको गौशाला बजारका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्र बताए । बाटो हिँड्ने बटुवा पनि रुखका हाँगापात छ्याप्पै छोपेर सेताम्य देखिने चराको झुण्ड हेरेर मख्ख पर्छन् ।

गौशाला बजारमा पाहुना चराको आगमन हुन थालेको करिब दुई दशक हुनै लागेको छ । वैशाख सुरु भएपछि दोस्रो साताभित्रको सेरोफेरोमा प्रहरी कार्यालय परिसरमा आउने पाहुना चरा गौशालामात्र नभएर अब जिल्लाका सबैभेगका बासिन्दाका लागि चासोको कुरा बनेको छ ।

“यहाँ नयाँ वर्ष (विक्रम सम्वतको) लागेसँगै पाहुना चरा आइनपुगे निकै सोधखोज बढ्दो रहेछ”, प्रहरी निरीक्षक मिश्र भन्छन्, “यसपालि पाहुना चराको बथान आइपुग्न दुई÷तीन दिन ढिलाइ भएको थियो, बाटो हिँड्ने जोसुकै चराबारे सोधखोज गर्नथाले ।” यसपालि वैशाख पहिलो सातामा पाहुना चराको पहिलो बथान परिसरमा आइपुगेको प्रनी मिश्रको भनाइ छ । पहिलो दिन दुई÷तीन सयको सङ्ख्यामा आएका पाहुना चरा थपिँदै गएर अहिले पाँच हजार नाघी सकेका छन् ।

दुई दशकयता प्रत्येक नयाँ वर्षसँगै घाँटीमा पहेँलो र अन्य शरीर निख्खर सेता भएका बकुल्ला जातिका हिमाली चराले छ महिना अवधि इलाका प्रहरी कार्यालय गौशालाको परिसरलाई आफ्नो बासस्थान बनाउँदै आएका छन् । सुरुमा वैशाख सङ्क्रान्तिकै दिन पाहुना चरा आउन थालेपनि पछिपछि आउने दिनमा साता १५ दिनको फरक पर्ने गरेको गौशालावासी बताउँछन् ।

“वैशाख सङ्क्रान्तिसँगै जुडशीतल पर्व मनाइरहँदा हामी पाहुना चरा आएको हेर्न पर्खन्थ्यौँ”, गौशाला नगरपालिकाकै रजखोर बस्तीका राजनीतिक-सामाजिक कार्यकर्ता अजय कुशवाहा भन्छन्, “यसपालि भने पाहुना चरा पाँच दिन ढिलो आए ।” वैशाख सङ्क्रान्तिसँगै पाहुना चराबारे चियोचर्चा हुने यस भेगको चलन नै बसिसकेको कुशवाहाको भनाइ छ ।

केही सयबाट आउने क्रम थाल्ने यी चराको सङ्ख्या पाँच साताभित्र पाँच हजार पुगेको छ । छ महिनापछि फर्कने बेलामा भने आफ्ना जहान बढाएर १५ हजार पुर्याउने गरेका दैनिकजसो यी चराको गतिविधि नियाली रहने गौशालाका व्यापारी बताउँछन् । वैशाखमा आउने यी चरा असोजमा फर्कने गरेका छन् । यहाँको बसाईमा पाहुना चराले तीन छिमल बच्चा कोरल्दा यहाँ आएका चराको सङ्ख्या फर्कने बेलासम्म तेब्बर पुग्ने गरेका गौशाला बजारका चियापसले मीना साह बताए ।

यी चरालाई कतिले साइबेरियन र कतिले नेपालकै हिमाली भेगका बताउने गरेका छन् । लामो समयदेखि वनवातावरण र जङ्गली पशुपंछीबारे अध्ययन, अनुसन्धान गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादबले हिउँदमा हिमाली भेग जाँदा यस्तै चरा देखिएकाले यी मुलुककै हिमाली भेगका चरा हुनसक्ने बताए ।

यता लामो समय रुसमा बसेर त्यहीँबाटै उच्च शिक्षा सकेर फर्कनु भएका जिल्लाकै भङ्गाहा नगरपालिका–५ राजपुरका मधु ढङ्गाना भने गौशालामा आएका पाहुना चरा साइबेरियन नै भएको बताए । “साइबेरियाका बकुल्ला एक्लादुक्लै बस्दैनन्”, ढुङ्गानाले भने, “अहिले यहाँ आएका पाहुना चराको बसाइ, रङरुप र कराइ ठ्याक्कै साइबेरियन बकुल्लासँग मिल्छ ।”

पाहुना चराबारे समान धारणा नदेखिए पनि गौशालामा भने यी पाहुनाचरालाई ‘साइबेरियन बकुल्ला’ नै भन्ने गरिएको छ । करिब दुई दशकदेखि गौशालाकै प्रहरी कार्यालय परिसरलाई नै बस्ने ठाउँ रोजेका यी पाहुना चरा तातो वातावरण बच्चा हुर्काउन अनुकूल हुनाले सन्तानवृद्धिकै लागि यहाँ आउने गरेका कुरामा भने विज्ञहरु सहमत देखिन्छन् ।

सुरुसुरुका वर्षमा त पाहुना चरा हेर्न नै टाढाटाढाबाट सर्वसाधारण आउने गर्थे । अब यो क्रम पातलिए पनि गौशाला बजारको परिचयमा पाहुनाचरा थपिएका स्थानीय शिक्षक पुरुत्तोम अधिकारी बताए । नदी किनारको छिपछिपे पानी भएको ठाउँ र ओरपरका पोखरी पाहुना चराले चरण क्षेत्र बनाएका छन् । पानीमा तैरिने लेउ, साना भुरा माछा र किरा फट्याङ्ग्रा नै पाहुना चराको आहारा हुने गरेको छ ।

यता इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मिश्र भने पाहुना चराको रेखदेख, संरक्षण र हेरचाहमा समुचित ध्यान दिइँदै आइएको बताए । “हामीले पाहुना चराको सक्दो हेरचाह गरेका छौँ”, प्रनि मिश्रले भने, “गुलेली चलाउने, चरा जिस्क्याउने र घुँयत्रो हान्नेजस्ता चरा बिच्क्याउने काम परिसरभित्र पूर्णवर्जित छ ।” यद्यपि यहाँ आउने चराका विविध पक्षबारे अध्ययन अनुसन्धान हुनुपर्ने आवश्यकता औल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !