८ मंसिर २०८१, शनिबार

जेलबाट छुटेपछि पनि अपराधमा संलग्न


बम विस्फोट

झापा । जेलबाट छुटेकाहरू नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

“लागुऔषध मुद्दाका कारोबारीदेखि विस्फोटक पदार्थ राख्दै जनजीवन त्रसिद बनाउने काममा जेलबाट छुटेकाहरू नै संलग्न हुने गरेको पाइएको छ”, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने ।

विसं २०७६ वैशाख २८ गते झापाको कनकाई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग गरी प्रेसर कुकर बम राखेर आतङ्क मच्चाउने खगेन्द्र खरेल, लागुऔषध कारोबार मुद्दामा पक्राउ परेका गौरादह–२ का ३८ वर्षीय सुमन कार्की र वैदेशिक रोजगारी ठगी मुद्दामा पक्राउ परेका शिवसताक्षी–१ का ३२ वर्षीय शरण लिम्बू भनिने दीलकुमार सामेखाम जेलबाट छुटेलगत्तै पुनः आपराधिक गतिविधिमा संलग्न भएसँगै जेलबाट छुटेकाले नै झापामा आपराधिक गतिविधि गर्दै आएको पाइएको हो ।

विसं २०७८ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस बिसौनी र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसरकुकर बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा उनीहरुकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको थियो ।

“पक्राउ परेका व्यक्ति उपर अनुसन्धान गर्दा यसअघि पनि यस्तै प्रकृतिका मुद्दामा उनीहरु संलग्न रहेको पाइयो”, प्रहरी उपरीक्षक पोखरेलले भने, “जिल्लामा घटेका केही ठूला आपराधिक गतिविधि घटाउने कार्यमा पुनः उनीहरु नै सक्रिय रहेका रहेछन् ।”

झापाका छुट्टाछुट्टै दुई स्थानमा बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा संलग्नमध्ये पक्राउ परेका व्यक्तिको चिनजान जिल्ला कारागार हुने र जेलभित्र एकआपसमा हितैषी सम्बन्ध उनीहरुबीच स्थापित हुने गरेको उनको भनाइ छ । उनका अनुसार सोही क्रममा सुमन, खगेन्द्र र शरण क्रमशः जेलबाट रिहा भएका थिए ।

जेलबाट छुटे लगत्तै खगेन्द्रले विभिन्न नक्कली फेसबुक आइडी र ग्रुपको निर्माण गरेर संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, एमसिसी खारेजलगायतका नारालाई प्रश्रय दिँदै प्रचार–प्रसार सुरु गरेको र उनले क्रमशः उक्त मुद्दामा सहमत हुनेलाई साथी बनाउँदै नयाँ पार्टी निर्माण गर्ने अभियानलाई अघि बढाएको उनले सुनाए ।

सोही क्रममा उनले हिमाल सुरक्षा परिषद् नामक पार्टी नामकरण गरेर विस्तारित रूपमा आफ्ना योजना अगाडि बढाउन थाल्छन् । उनका मुद्दामा सहमत हुनेलाई उनले सशस्त्र आन्दोलन गर्न उक्साउने गरेको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !