७ बैशाख २०८१, शुक्रबार

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर


विजयबहादुर स्वाँर

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन् ।

महासङ्घको आज सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष भएका स्वाँर छैँटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

महासङ्घको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी तथा बागतमी प्रदेशबाहेक सबै प्रदेशको प्रदेश संयोजकसमेत निर्विरोध भएको छ ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा भने निर्वाचन हुने कार्यक्रम रहेको छ । वरिष्ठ उपाध्यक्ष तीन पदको लागि पाँचजनाको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो ।

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्षद्वय दीपक अधिकारी, हरिशरण केसी, वर्तमान महासचिव पुन्यप्रसाद (सरोज) सिटौला, वर्तमान उपाध्यक्ष ऐनकुमार शाही र केदार पौडेलको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो ।

यस्तै, उपाध्यक्ष, सचिव र सदस्यमा पनि आवश्यकताभन्दा बढी व्यवसायीको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक एवं महासचिव सिटौलाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !