८ बैशाख २०८१, शनिबार

पैसामा नबिक्ने भएकोले सहकारी सञ्चालक विरोधमा : उपप्रधानमन्त्री केसी


CHITRA-BDR.-KC

काठमाडौैं–उपप्रधान एवम सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले आफू पैसामा नविक्ने भएकोले आफ्नो स्वार्थ अनुकुल काम गराउन नसकेका सहकारी सञ्चालक आन्दोलनमा उत्रिएको दाबी गरेका छन्।

रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘अहिलेका सहकारी संस्था नामका मात्रै सहकारी छन। काममा बैंकिङ कारोवार गरेर चर्को ब्याज खाने काम गरिरहेका छन। चित्रबहादुर केसी पैसामा नविक्ने भएकोले उनीहरु आफ्नो स्वार्थ अनुसार काम गर्न नसकेपछि आत्तिएका छन ।’

उपप्रधानमन्त्री केसीले सहकारी बोर्ड, विज्ञ र कर्मचारीको छलफलको आधारमा ऐन बनाएर अघि बढाइएको भन्दै अब कसैको विरोधको भरमा यो प्रक्रिया नरोकिने स्पष्ट पारे। उनले सहकारीको राष्ट्रिय अन्तर्राष्ट्रिय सिद्धान्त, मुल्य मान्यता अनुसार नै नयाँ ऐन ल्याउन लागिएको जानकारी दिदै नयाँ ऐनमा २०४८ सालको ऐनमा भएका राम्रा विषयलाई समेटिएको बताए।

उपप्रधानमन्त्री केसीले सहकारीबाट नेपाली जनताका १३ अर्ब रुपैयाँ ठगी भए पनि त्यसलाई एक सयदेखि १५० रुपैयाँसम्म मात्रै जरिवाना हुने गरेकोकोले नयाँ ऐनमा कारवाही प्रक्रियालाई कडा पारिएको भन्दै सहकारी सञ्चालकले दाबी गरे जस्तो कालो ऐन नभई समाजवादी अर्थ ब्यवस्थाको आधारको रुपमा रहेको सहकारीलाई मर्यादित र जिम्मेवार बनाउने गरी ल्याइने दाबी गरे। उनले भने, ‘ ऐन अगाडि बढ्छ, कसैले रोकेर रोकिँदैन।’

उनले बारम्बार सरकार परिवर्तन भइ रहँदा मुलुकमा अस्थिरता उत्पन्न भएको बताउँदै सरकार बनाउने र भत्काउने कामले मात्रै मुलुकको राम्रो नहुने स्पष्ट पारे । केसीले कुनै पनि सरकारलाई राम्रो वा नराम्रो काम गर्न केही समय चाहिने भन्दै अहिले नै सरकार परिवर्तनको कुराले मुलुकमा अस्थिरता उत्पन्न भई विकासको काम अवरुद्ध हुने तर्फ सचेत गराए । उनले भने,’ राजनीतिज्ञले राजनीति जनता र राष्ट्रको गर्ने हो अहिलेसम्म व्यक्तिगत स्वार्थ पूरा गर्न गरेकोले मुलुकको यस्तो अवस्था आएको हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !