४ असार २०८१, सोमबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केही बेरमा नेपाललाई हस्तान्तरण गरिँदै


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ । चीन सरकारले नेपाललाई सो विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ यी हाल नेपाल भ्रमणमा छन् ।

उनको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त विमानस्थलको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

यस हस्तान्तरण समारोह भर्चुअल विधिबाट हुँदैछ भने सो प्रयोजनका लागि आवश्यक व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पोखरा आएका छन् ।

विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट प्रधानमन्त्री देउवालाई हस्तान्तरण हुनेछ भने त्यसलगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई मन्त्री आलेले कदरपत्र प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम रहेको छ । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !