१४ असार २०८१, शुक्रबार

सुनसरीको धरानमा जेब्रा झोलाभित्र भेटियो मानिसको टाउको र खुट्टा


धरान हत्याकाण्ड

धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ नौकिलोमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ भने शवको शरीर भने फेला परेको छैन । प्रहरीका अनुसार हिजो बुधबार दिउँसो धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलमा भेटिएको टाउको र खुट्टा पुरुष मानिसको भएको आशंका गरिएको छ ।

हिजो दिउँसो आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि हेर्दा जेब्राभित्र टाउको र खुट फेला पारेपछि प्रहरीमा खबर गरेर जानकारी दिएका थिए । पूर्व नेपाल आर्मी खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार हत्या गरेर शवको टाउको र खुट्टा झोलाभित्र हालेर फ्यालेको हुनसक्ने बताइएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले बताए ।

डिएसपी कुँवरका अनुसार टाउको र खुट्टा कसको हो भनेर अझसम्म खुलेको छैन । शव भेटिएका मानिसको उमेर करिब ४० देखि ४२ वर्ष भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग पनि गरिएको छ । उक्त घटनामा संघीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान गरिएको थियो ।

घटनास्थल धरान–१३ को जिरोपोइन्टबाट लगभग ९ किलोमिटर उत्तरमा पर्छ । टाउको र खुट्टा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अनुसन्धान थाल्दै प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउने प्रयास जारी राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !