२ जेष्ठ २०८१, बुधबार

आजदेखि यात्रुबिनाको खाली नेपाली रेल कुदाइँदै


जयनगर–बर्दिवास रेल्वे

जनकपुरधाम । विगत लामो समयदेखि सञ्चालनको पर्खाईमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक-पटक तोकिए पनि आजदेखि मात्र यात्रुबिनाको खाली रेल चलाउन लागिएको हो ।

आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । रेलवे लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीले बताएको छ ।

रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ । आज आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गर्ने भएको हो ।

आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः जयनगर फर्किने रेल्वे कम्पनीका महाप्रबन्धक झाले जानकारी दिए । झन्डै १० दिनसम्म रेल कुदाइने उनले बताए ।

आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ ।अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ ।

गेट म्यान कर्मचारी आज बिहानैबाट काममा खटिने झाले बताए । ६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिनेछन् । १२ भारतीय कर्मचारी उद्घाटनपछि आउने बुझिएको छ ।

जयनगरदेखि कुर्थासम्मको रेलमार्गमा एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ । अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !