१२ आश्विन २०८१, शनिबार

पर्सामा दुईजना मृतावस्थामा फेला


मृत

वीरगञ्ज । पर्सामा दुईजना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार पर्साको पोखरियामा एकजना प्रहरी जवान तथा हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको बसमा एक भारतीय नागरिक मृतावस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरी पोखरीया नगरपालिका–४ निवासी साथी जितेन्द्र रौनियारको कोठामा बेहोस अवस्थामा भेटिएको र निजका भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामा नै नारायणी अस्पतालमा उपचारमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । मृतक प्रहरी जवानको शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको खनालले जानकारी दिए ।

यसैगरी वीरगञ्ज, महानगरपालिका–६ रेशमकोठीमा रहेको शिखर डिक्सनरी कम्पनीबाट ४०/४५ जना स्टाफहरू पिकनिक मनाउन ना ५ ख ७७६ नंको बस रिजर्भ गरी मकवानपुरको हेटौँडा गएको र पिकनिक मनाई वीरगञ्ज, फर्केर आउँदा कम्पनीका स्टाफ भारत विहार रक्सौल निवासी ५५ वर्षीय मनोज श्रीवास्तव बसकै सिटमा अचेत अवस्थामा रहेको र उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । मृतकको शवपरीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !