७ मंसिर २०८१, शुक्रबार

कोरोनाको निःशुल्क परीक्षण गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा पत्र


पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले कोरोना भाइरस (कोभिड-१९) को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गरेको पत्रमा नेपालका सरकारी तथा निजी अस्पतालले पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा लागतभन्दा बढी मूल्य लिएको उपभोक्ता तथा चिकित्सकले गुनासो गर्न थालेको भन्दै निःशुल्क बनाउन माग गरिएको जनाइएको छ ।

“ निजी अस्पतालले ऐन्टीजेन टेस्ट गरेबापत न्यूनतम रु पाँच सय लिएको र पिसिआर परीक्षण शुल्क निजी अस्पतालमा न्यूनतम रु दुई हजार र सरकारी अस्पतालमा रु एक हजार लिइरहेको गुनासो छ,” उनले भने, “सम्पूर्ण परीक्षण गर्न टेस्टकिटको अधिकतम साइज ९६ प्रयोग गर्दासमेत अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा रु ८०० भन्दा बढी पर्दैन ।”

“सरकार आफैँले पनि प्रत्येक नागरिकलाई शङ्का लागेमा पिसिआर र एन्टीजेन परीक्षण गर्न अनुरोध गर्दै आएको छ भने सार्वजनिकस्थल, समारोह आदि ठाउँहरुमा जान पिसिआर गरेको वा एन्टीजेन परीक्षण गरेको प्रमाणपत्र तथा खोप लिएको प्रमाणपत्र अनिवार्य गरेको छ”, महर्जनले जारी गरिएको पत्रमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !