काठमाडौँ । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि बनाइएका सरसफाइकर्मी बाहेकका अस्थायी र स्थायी पास तथा अस्थायी परिचयपत्र खारेज गरेको छ ।
गृह मन्त्रालयले आज बुधबार एक सूचना जारी गर्दै कोभिड-१९ ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिम बढेको भन्दै सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको हो ।
गृहले हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने भएकाे हो ।
सरसफाइसँग सम्बन्धित व्यक्तिको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने मन्त्रालयले जनाएको छ । सिंहदरबारभित्र सञ्चालन भएका चमेनागृहको हकमा २९ गते एक दिनका लागि पुरानै पासबाट प्रवेश दिइने र ३० गतेदेखि भने आवश्यकता हेरी नयाँ पास दिइनेछ ।
अस्थायी वा स्थायी परिचयपत्र बनाउनु परेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने निर्णय गरेको छ । सूचना विभागबाट जारी भएको पास भएका पत्रकारहरू मात्र सिंहदरबारभित्र प्रवेश गर्न पाउनेछन् ।
यस्तो छ गृह मन्त्रालयले निकालेको सूचना