९ असार २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ‘पुसे १५’ पर्व मनाइँदै


पुसे १५ पर्व

कैलाली । कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ‘पुसे १५’ आज हर्षोल्लासपूर्वक मनाइँदैछ । मौलिक पहिचान बोकेको यो पर्व एक आपसमा दन्ते कथा सुनाउने र सुन्ने पर्वको रुपमा लिइने गरिन्छ ।

पर्वका अवसरमा गाउँघर तथा टोलमा एक आपसमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, कन्दमूल, पिँडालुलगायत पाकेको फर्सी उसिनेर खाने परम्परा छ । त्यस्तै लाउन, बाबर, माणा, निसौसेलगायत स्थानीय खानाका मीठामीठा पकवान पकाइ खाने चलन छ । गाउँघरका वृद्धवृद्धाबाट पनि लोक तथा दन्ते कथा सुन्ने रीतिरिवाज छ ।

पर्वको तयारीका लागि आज यहाँ प्रत्येक घरका गृहणी कुटानीपिसानी गर्ने, बजारमा गई विभिन्न सरसमान किन्ने तथा खानाका मिठा परिकार पकाउने तयारीमा व्यस्त छन् । विशेषगरी रातभर जाग्राम बसेरै यो पर्व मनाउने परम्परा रहे पनि हिजोआज भने समय परिवर्तनसँगै फरकपनाका साथ पनि यो पर्व मनाउन थालिएको छ ।

यस पर्वमा विवाहित छोरीबेटीलाई माइतीमा बोलाइ सत्कार पनि गरिन्छ । पछिल्लो समय यस पर्वको महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै गएको गाउँका स्थानीय अगुवा बताउछन् । हिजोआज कतिपय नयाँ पिँढीमा यो पर्वको महत्वबारे जानकारसम्म नहुँदा पर्व नै लोपहुँदै जाने हो की भन्ने चिन्ता पनि गर्न थालिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !