१४ आश्विन २०८१, सोमबार

हिमाली जिल्लाहरु म्याग्दी र मुस्ताङमा हिमपातले जनजीवन प्रभावित


जनजीवन प्रभावित

म्याग्दी । हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा आज बिहानैदेखि परेको हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ । मुस्ताङको अधिकांश भू–भागमा हिउँ परेको छ ।

घरपझोङ गाउँपालिका–५ ठिनीकी यमुना लामाले हिमपातसँगै हावाहुरी चलेको बताए । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीय बस्ती घोडेपानी र वडा नं ८ को राम्चेमा पनि हिउँ पर्न थालेको छ ।

आज बिहान ४ बजेदेखि हिमपात सुरु भएको घोडेपानी टोल विकास संस्थाका अध्यक्ष वीरेन गर्बुजा पुनले बताए । खोला, ताल, पँधेरा र धारामा पानी जमेको छ । सडकमा सवारीसाधन आवतजावत गर्न समस्या भएको छ ।

वर्षात र हिउँले स्याउ, जौ, उवा, फापरबालीलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चडलगायत पशु चौपायालाई गोठमै बाधेर राखेका छन् ।

उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रुपन्देही, बागलुङ, पर्वतलगायतका जिल्लामा घुम्ती व्यापारका लागि झरेका छन् । म्याग्दीका किसानले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेँशी झारेका छन् ।

बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैँसी, चौरी, भेडाबाख्राको गोठ चिसो बढेसँगै गाउँबस्ती आसपासका जङ्गल र पाखामा झारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !